ओलीको प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न नेकपा नेताहरुको माग
काठमाडौं – नेकपाकाे स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिल्लीले हटाउन खोजेको अभिव्यक्तिको पुष्टि गर्न माग गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न आग्रह गरेका हुन् ।
ओलीले आइतबार भारत र नेपालकै नेताहरूले मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको दाबी गरेका थिए । यसलाई लिएर नेकपाकै नेताहरूले ओलीमाथि प्रश्न गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र सरकारको नेतृत्व गर्ने नैतिकता गुमाएको टिप्पणी गरेका हुन् ।
एक नेता भन्छन्, ‘पछिल्लो अभिव्यक्तिपछि उहाँले पार्टी र सरकारको नेतृत्व गर्ने हैसियत गुमाउनुभयो । अब मार्ग प्रशस्त गर्नुस् भनेर वरिष्ठ नेताहरूले आग्रह गर्नुभएको छ ।’
अरू स्थायी कमिटी सदस्यले पनि त्यही धारणा राखेको उनले बताए ।
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकको सुरुमा पछिल्लो अभिव्यक्तिलाई लिएर अध्यक्ष प्रचण्डले विषय प्रवेश गराएका थिए भने ओलीले जवाफ दिएका थिए । तर प्रचण्ड र ओलीले के-के भनेका थिए भन्ने उनले खुलाएनन् ।
एक नेताका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहेको भन्दै बचाउ गरेका थिए ।
प्रतिकृया दिनुहोस्