काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताको मर्म सशस्त्र द्वन्द्व अन्त्य गर्नुमा मात्र सीमित नरहेको बताएका छन्। ऐतिहासिक विस्तृत शान्ति सम्झौता सम्पन्न भएको दिनको स्मरण गर्दै उनले द्वन्द्वपीडितलाई न्याय दिलाउनु, समाजमा दिगो मेलमिलाप कायम गर्नु र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु शान्ति सम्झौताको मूल ध्येय रहेको बताएका हुन्।
वि.सं. २०६३ मंसिर ५ गते भएको ऐतिहासिक शान्ति सम्झौतामा तत्कालीन सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा (माओवादी) का अध्यक्षका रूपमा आफूले हस्ताक्षर गरेको स्मरण गर्दै प्रचण्डले यो सम्पूर्ण नेपाली जनताको बलिदान र त्यागको प्रतिफल भएको बताए। यो सम्झौताले नेपालको राजनीतिक यात्रालाई नयाँ युगमा प्रवेश गराएको उनको भनाइ छ।
प्रचण्डका अनुसार शान्ति सम्झौताकै ऐतिहासिक जगमा संविधानसभाको निर्वाचन सम्पन्न भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको हो। समावेशी लोकतन्त्र र नयाँ संविधानको निर्माणले नेपालको राजनीतिक इतिहासमा राष्ट्रिय एकता र अभूतपूर्व रूपान्तरणको सन्देश दिएको उनले स्पष्ट पारेका छन्।
यद्यपि, सम्झौताका कतिपय मुख्य बुँदाहरू अझै कार्यान्वयन हुन बाँकी रहेको भन्दै उनले संक्रमणकालीन न्यायलाई पीडितको भावनाअनुसार तार्किक निष्कर्षमा पुर्याउनुपर्ने खाँचो औँल्याए। बेपत्ता व्यक्तिको खोजी, सत्य निरूपण तथा द्वन्द्वपीडितलाई उचित न्याय र राहत प्रदान गर्ने कार्यलाई साझा राष्ट्रिय प्रतिबद्धताका रूपमा पूरा गर्न उनले सबै पक्षसँग आग्रह गरेका छन्।


