जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल पूरा हुनुपर्छ, वैशाखको अन्तिममै स्थानीय चुनाव हुनुपर्छ : केपी ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन संविधानअनुसार आगामी वैशाखको अन्तिम साताभित्रै सम्पन्न गर्नुपर्ने माग गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित पार्टीसम्बद्ध स्थानीय जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै ओलीले जनप्रतिनिधिलाई पाँच वर्ष काम गर्नबाट वञ्चित गर्न नपाइने धारणा राखेका हुन्।

निर्वाचन आयोगसँगको सर्वदलीय छलफलमा आफ्नो पार्टीले राखेको आधिकारिक अडानबारे जानकारी दिँदै ओलीले फागुन वा चैतमै हतारिएर चुनाव गर्दा जनप्रतिनिधिको वैधानिक पदावधि अधुरो रहने बताए। जनताले पाँच वर्षका लागि दिएको म्यान्डेट पूरा गर्न पाउनु लोकतान्त्रिक अधिकार भएको उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्री ओलीले संविधानको स्पष्ट व्यवस्थालाई लत्याएर गरिने कुनै पनि निर्णयको नजिर खतरनाक हुने टिप्पणी गरे। राजनीतिक लाभहानिको हिसाब गरेर संविधान मिच्न थालियो भने मुलुकमा कानुनी शासनको उपहास हुने भन्दै उनले संविधानको अक्षरशः पालना गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराए।

अध्यक्ष ओलीले स्थानीय तह नै जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले त्यहाँ कार्यरत जनप्रतिनिधिहरूले निष्ठापूर्वक जनसेवामा खटिनुपर्ने बताए। आगामी निर्वाचनमा उच्च जनसमर्थनका साथ विजय हासिल गर्न योजनाबद्ध रूपमा जनताका घरदैलोमा पुग्न उनले कार्यकर्ताहरूलाई निर्देशन दिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा