सामुदायिक शिक्षा सुधारको नेतृत्व स्थानीय सरकार र समुदायले लिनुपर्छ : डा. रामवरण यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न स्थानीय तहका जनप्रतिनिधि र स्थानीय समुदायले मुख्य अभिभावकत्व ग्रहण गर्नुपर्ने बताएका छन्। जनकपुरधाममा शुक्रबार प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) को राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले तल्लो तहबाटै शिक्षा सुधारको थालनी हुनुपर्नेमा जोड दिए।

मुलुकमा सार्वजनिक र निजी शिक्षाबिच गहिरिँदै गएको विभेदप्रति गम्भीर चिन्ता प्रकट गर्दै डा. यादवले दुईथरी शिक्षा प्रणालीले समाजमा असमानताको खाडल फराकिलो बनाएको उल्लेख गरे। शिक्षाले नागरिकलाई समतामूलक अवसर प्रदान गर्नुपर्नेमा वर्गीय विभेद सिर्जना गर्ने माध्यम बन्न नहुने उनको भनाइ थियो।

स्थानीय सरकारलाई विद्यालय व्यवस्थापन र अनुगमनको अधिकार संविधानले नै प्रत्याभूत गरेको स्मरण गराउँदै उनले जनप्रतिनिधिहरूले सामुदायिक विद्यालयको पूर्वाधार, शिक्षक दरबन्दी र शिक्षण सिकाइमा प्रत्यक्ष चासो दिनुपर्ने बताए। अभिभावक र समुदायको निरन्तर निगरानीले मात्र सरकारी विद्यालयप्रति जनविश्वास पुनस्र्थापित हुने उनले प्रस्ट पारे।

शैक्षिक सुधारको अग्रपंक्तिमा प्रधानाध्यापकहरू रहने भएकाले उनीहरूलाई नेतृत्वदायी, पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा पूर्वराष्ट्रपतिले जोड दिए। उनले सम्पूर्ण सरोकारवालाहरू एकजुट भएर सार्वजनिक शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रतिस्पर्धी बनाउन सक्रिय लाग्नुपर्ने आवश्यकता औँल्याए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा