October 31, 2026, Saturday
KN hd tv

मौसममा भारी फेरबदल: चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले तीन दिनसम्म देशैभर वर्षा र हिमपातको चेतावनी

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को प्रभाव सुरु भएको छ। यस मौसमी प्रणालीका कारण आगामी केही दिनसम्म देशका अधिकांश भू-भागमा आंशिकदेखि पूर्ण बदली रही मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। विशेष गरी आज बिहीबारदेखि सुरु भएको यो मौसमी बदलाव शनिबारसम्मै सक्रिय रहने देखिएको छ।

दिउँसो र रातिको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ। साथै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा हिमपातको समेत अत्यधिक सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधि र हिमपहिरोको जोखिम रहेकोले उच्च सतर्कता अपनाउन र पर्यटकहरूलाई उच्च हिमाली भू-भागमा नजान आग्रह गरिएको छ। पहाडी तथा तराई क्षेत्रमा पहिरो जाने जोखिम, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने तथा चिसो बढ्ने हुनाले पूर्वतयारी अपनाउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ। धानबाली भित्र्याउनेलगायतका कृषि कार्यहरू प्रभावित हुन सक्ने भएकाले किसानहरूलाई विशेष सावधानी अपनाउन सुझाइएको छ।

आइतबार र सोमबारदेखि भने मौसमी प्रणालीमा सुधार आउने र देशका अधिकांश भू-भागमा आंशिक बदली रही मुख्यतया पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात मात्रै बाँकी रहने देखिन्छ। तथापि, तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवनमा सामान्य सतर्कता अपनाउनु वाञ्छनीय हुन्छ।

शीर्ष समाचार

धेरै पढिएको