काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको सर्वोत्तम हितमा रहेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालले राष्ट्रिय आवश्यकता र हितका आधारमा बिआरआईको अधिकतम उपयोग गर्नुपर्ने बताए। अनुदान, साझेदारी, सहुलियतपूर्ण ऋण वा व्यावसायिक ऋणका आधारमा परियोजनाहरू छनोट गर्न नेपालले व्यावहारिक र तर्कसंगत दृष्टिकोण अपनाउनुपर्ने उनको धारणा थियो।
खनालले चीनले आफ्नो विश्वव्यापी प्रभुत्व विस्तारका लागि बिआरआई अघि सारेको भन्ने पश्चिमी देशहरूको प्रचार भ्रामक रहेको दाबी गरे। पोखरा र लुम्बिनी विमानस्थलबारे ऋणको पासो भन्दै फैलाइएको हल्ला गलत भएको उनको भनाइ छ।
उनले नेपालले सधैं दुई छिमेकी राष्ट्रसहित सबै मुलुकसँग शान्तिपूर्ण, मैत्रीपूर्ण, रचनात्मक र व्यावहारिक सम्बन्ध राख्ने नीति अपनाएको उल्लेख गरे। सन्तुलित र अग्रगामी दृष्टिकोणले नेपालले बिआरआईको फाइदा उठाउँदै दिगो विकास र आर्थिक वृद्धि हासिल गर्न सक्ने खनालको भनाइ थियो।
