काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पुनः स्पष्टीकरण सोधेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
ऊर्जा मन्त्रालयले यसअघि नै पाँच पटक विवरण माग्दै स्पष्टीकरण सोधिसकेको थियो। ऊर्जामन्त्री दीपक खड्काले विभिन्न समिति र आयोगमार्फत छानबिनको प्रयास गरे पनि घिसिङलाई हटाउन नसकिएपछि मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो।
कार्यसम्पादन मूल्याङ्कनमा मन्त्रालयले शून्य अंक दिएपछि कुलमानलाई हटाउने प्रयास भइरहेको छ। तर, घिसिङले बुटवलमा आयोजित एक कार्यक्रममा आफू अन्तिम समयसम्म आफ्नो जिम्मेवारीमा खटिरहने बताएका छन्। उनले सरकारको मूल्याङ्कन भन्दा नागरिककै मूल्याङ्कन महत्वपूर्ण हुने उल्लेख गरे।
