सरकारले ल्याएको पाँच अध्यादेश स्वीकृतिका लागि पेस, भूमिसम्बन्धी अध्यादेश स्थगित

काठमाडौं – भोलि (बुधबार) मध्याह्न १ बजेका लागि बोलाइएको संघीय संसद्, प्रतिनिधिसभामा सरकारद्वारा ल्याइएका पाँच अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएको छ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित पाँच अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची तय गरेको हो।

त्यसैगरी, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पनि स्वीकृतिका लागि पेस हुने कार्यसूचीमा समावेश गरिएको छ।

तर, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले विरोध जनाएपछि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सरकारले स्थगित गरेको छ र अन्य पाँच वटा अध्यादेश संसदमा ल्याउने निर्णय भएको छ।

यसअघि गत माघ २४ गतेको प्रतिनिधिसभाको बैठकमा पनि उक्त अध्यादेश स्थगित गरिएको थियो। अब झण्डै एक महिना पछि अध्यादेशलाई अघि बढाउने कार्यक्रम कार्यसूचीमा राखिएको छ। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले भोलि बस्ने बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्विप जारी गरेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा