टर्कीमा हुने कोप–३१ मा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली टोलीको नेतृत्व गर्ने, हिमाल र जलवायु न्याय प्राथमिकतामा
काठमाडौँ । आगामी नोभेम्बर ९ देखि टर्कीको अन्ताल्यामा सुरु हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि पक्षधर राष्ट्रहरूको सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन् ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र, वातावरण तथा अर्थ मन्त्रालयका सीमित र सम्बन्धित विषयका अधिकारीहरू मात्रै सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मितव्ययिता अपनाउँदै यस पटक सानो र विज्ञ समूहलाई मात्र टर्की पठाउने तयारी छ ।
यस वर्षको कोप सम्मेलनमा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएको गम्भीर संकट, हिमताल विस्फोटको जोखिम, क्षति तथा नोक्सानी कोषको प्रभावकारी कार्यान्वयन र जलवायु न्यायको सवाललाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्ने रणनीति बनाएको छ । कार्बन उत्सर्जनमा नेपालको भूमिका शून्यप्रायः रहे पनि असर भने भयावह खेप्नुपरेको यथार्थलाई नेपालले उजागर गर्नेछ ।
नेपालले अल्पविकसित र जोखिमयुक्त हिमाली राष्ट्रहरूका लागि अनुदानमा आधारित जलवायु वित्त (Grant-based Climate Finance) उपलब्ध गराइनुपर्ने र सन् २०३५ सम्ममा अनुकूलन कोष तीन गुणा वृद्धि हुनुपर्ने अडान राख्ने भएको छ । सम्मेलनकै अवसरमा नेपाल, भुटान र किर्गिस्तानले संयुक्त रूपमा पर्वतीय पारिस्थितिकी संरक्षणसम्बन्धी विशेष छलफल कार्यक्रम समेत सञ्चालन गर्नेछन् ।

प्रतिकृया दिनुहोस्