काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक आज (आइतबार) बस्दैछ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा अहिले बिहान ११ बजे बैठक बस्न लागेको हो ।
हिजो बिहान ११ बजे डाकिएको बैठक ओलीको स्वास्थ्य समस्याका कारण आजलाई सारिएको हो । बैठकमा उपमहासचिव, सचिवलगायतले बोल्ने एजेण्डा छ ।
यसअघि शुक्रबार बसेको बैठकमा उपाध्यक्षहरू र महासचिवले आफ्ना धारणा राखेका थिए । अधिकांश उपाध्यक्षले हालको अवस्थामा अध्यक्ष ओलीले नेतृत्व परिवर्तनका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा यसअघि ओलीका पक्षमा उभिएका नेताहरु पनि उनको विपक्षमा खुलेका छन् । सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित बहुमत पदाधिकारीले पार्टीलाई पुनर्गठन गरी नयाँ दिशातर्फ लैजान ओलीले अध्यक्षबाट मार्गप्रशस्त गर्नुपर्ने मत राखेका छन्।
जेन–जी आन्दोलनपछि दलहरूमा नेतृत्व हस्तान्तरणको दबाब बढिरहेका बेला ओलीले पनि पद छाड्नुपर्ने माग एमाले नेताहरूले गरेका हुन् । एमालेको कात्तिक पहिलो साता बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनबारे निर्णय गर्ने तयारी गरेको छ ।
बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष पोखरेलले बदलिँदो अवस्थामा पार्टीलाई नयाँ ढंगले अघि बढाउन आवश्यक सबै क्षेत्रमा पुनर्गठन गर्नुपर्ने बताएका थिए ।
‘पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्छ । नयाँ राजनीतिक परिस्थितिमा नेतृत्व पुनर्गठनको विषय छलफल गरेर टुंगोमा पुग्नुपर्छ,’ उनले बैठकमा भनेका थिए, ‘परिस्थिति नयाँ बन्यो, पुरानो सोचाइले अघि बढ्न सकिँदैन । हिजोको निर्णयले काम गर्न सक्दैन ।’
यस्तै, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेले आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरे भने उपाध्यक्षद्वय विष्णु पौडेल र रामबहादुर थापाले पनि जेन–जी आन्दोलनपछि पार्टी नेतृत्वप्रति नैतिक प्रश्न उठेकाले नयाँ ढंगले सोच्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले लिखित धारणा राख्दै ७० वर्ष पुगेका नेताले विधिवत् रूपमा नेतृत्व छाड्नुपर्ने प्रस्ताव राखेका छन् ।
यस्तै, सामाजिक सञ्जाल बन्द गर्दा भएको प्रदर्शनमा तत्कालीन सरकारले युवालाई गोली चलाएर गम्भीर कमजोरी गरेको विषय पनि बैठकमा उठेको थियो । सोही कारण एमालेले सरकार छाड्नुपर्ने अवस्था आएकाले त्यसप्रति नेतृत्वले आत्मालोचना गर्दै नेतृत्व हस्तान्तरण गर्नुपर्ने नेताहरूको माग छ ।
उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली भने संकटका बेला नेतृत्वको रक्षा गर्नुपर्ने भन्दै ओलीको पक्षमा उभिएका छन् ।
