काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समग्र विकासका लागि महिला र पुरुषको समान सहभागिता आवश्यक रहेको बताएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघद्वारा आयोजित महिला नेतृत्व सम्मेलन २०२५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई परिवर्तनशील शक्ति मानिआएको बताउँदै सबै क्षेत्रमा उनीहरूको समान सहभागिता अनिवार्य रहेको उल्लेख गरे।
“रथको एउटा पांग्रो मात्रै चलेर गाडी गुड्दैन। त्यसैले महिला र पुरुषको समान सहभागिताबाट सिंगो समाजलाई अगाडि बढाउनुपर्छ। गरिबी हटाउने र सामाजिक न्याय स्थापित गर्ने सवालमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने। उनले राष्ट्रपति, प्रधानन्यायाधीशलगायत उच्च पदमा महिलाको उपस्थिति बढ्नु सकारात्मक भए पनि शिक्षा, उद्यमशीलता, रोजगारीलगायतका क्षेत्रमा उनीहरूको भूमिका अझै विस्तार गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले अर्थतन्त्रको विकासमा सरकार सुशासनका लागि प्रतिबद्ध रहेको र निजी क्षेत्रको नेतृत्वदायी भूमिकालाई महत्त्व दिन तत्पर रहेको प्रस्ट पारे।
“हामी अघि बढ्नुपर्छ, पछाडि फर्किनुहुँदैन। ब्याक गेयर त घुम्तीमा मात्रै लगाउने हो, लोकतन्त्र हाम्रो राजमार्ग हो,” उनले भने।
उनले कानुनहरू विकासलाई सहज बनाउनुपर्ने उल्लेख गर्दै सम्मेलनबाट प्राप्त सुझावलाई सरकारको नीति तथा कानुन परिष्कृत गर्न प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरे।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै औद्योगीकरण प्रवर्द्धनलाई प्राथमिकता दिएको बताए।
कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र अभियन्ता रुक्साना कपालीलाई सम्मान गरेका थिए।
