पाँचथर । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई नागरिकहरूको असन्तुष्टि घटाउन केन्द्रित हुनुपर्ने बताएका छन्। पाँचथरको तुम्बेवा महोत्सव २०८१ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा व्यक्त गरेका हुन्।
उनले नागरिकहरूमा देखिएको आक्रोशमा केही व्यक्तिहरूले घ्यू थप्ने काम गरिरहेको बताएका छन्। थापाले भने, “स्थानीय होस् वा संघीय सरकार जसले भए पनि चाहिने काम मात्रै गरौं, नचाहिने काम नगरौं। अहिले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख भइसकेका व्यक्तिहरूले जीवनभर सेवा सुविधा पाउने गरी कानुन बनाउन सरकार लाग्यो रे भन्ने हल्ला आएको छ। यस्तो कुराले स्वाभाविक रूपमा नागरिकहरूको रिस उठ्ने नै भयो। तर कतिपय कुरालाई हामीले ठिक समयमा, ठिक ढङ्गले बुझाउन पनि सक्नु पर्छ।”
थापाले आफू स्वास्थ्य मन्त्री हुँदा ठूला नेताहरूको उपचार विदेश जान र त्यसको खर्च सरकारले व्यहोर्ने कुरा गलत भएको भन्दै सांसदबाट कानुन बनाएर रोकेको पनि उल्लेख गरे।
