काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी आवश्यक रहेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालमा रहेका लगानी सम्भावनालाई सही रूपमा पहिचान गर्दै बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। नेपालले ‘एक चीन नीति’लाई दृढतापूर्वक पालना गर्दै आएको बताउँदै सभामुख घिमिरेले बिआरआई नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ अवसरको रूपमा लिनुपर्ने उल्लेख गरे।
उनका अनुसार नेपाल आफ्नो भौगोलिक अवस्थालाई उपयोग गरी ट्रान्जिट हबका रूपमा स्थापित हुनसक्छ। त्यसका लागि दुवै देशबीच भौतिक पूर्वाधार, सडक, रेलमार्ग, ऊर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताए। नेपाल–चीन सम्बन्ध केवल व्यापार र आर्थिक सहायतामा सीमित नभई सांस्कृतिक, शैक्षिक तथा प्राविधिक हस्तान्तरणका क्षेत्रमा पनि विस्तार भइरहेको उनले बताए।
सभामुख घिमिरेले नेपाल–चीन सम्बन्ध ऐतिहासिक विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित रहेको उल्लेख गर्दै दुवै देशबीचको सहकार्यलाई अझ बलियो बनाउन कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
