बागलुङ – राष्ट्रिय जनमोर्चाले बागलुङबाट पहिलो विजय हासिल गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा जित हासिल गरेका हुन् ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७९ को अन्तिम मतपरिणाम अनुसार सत्ता गठबन्धनको समर्थनमा जनमोर्चाका अध्यक्ष केसीले बागलुङ–१ मा नेकपा (एमाले) का उमेदवार सूर्यप्रसाद पाठकलाई हराएका हुन् । केसीले २१ हजार ४५१ मत ल्याउँदा एमालेका पाठकले १८ हजार ८२५ मत ल्याएका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार १८१ मत प्राप्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत ल्याए । अन्य दुई स्वतन्त्र उमेदवार शिवलाल सापकोटाले १२५ र चन्द्रबहादुर क्षेत्रीले १९३ मत पाएका छन् । एक लाख एक हजार २२३ मतदाता रहेको यो क्षेत्रमा ५४ हजार ७११ मत खस्दा ५२ हजार ८७० मत सदर भएको थियो ।
