राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र चिनियाँ नेता ली बीच भेटवार्ता

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आएका चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ। भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान उनीहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेका हुन्।

सोमबारै सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चारदिने औपचारिक भ्रमणका क्रममा २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। 

प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले मंगलबार अपराह्न शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेता लीले मंगलबारै भेट गर्नेछन्। परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको मंगलबारै भेटवार्ता हुनेछ।

चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अध्यक्ष ली भ्रमण सम्पन्न गरी भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा