सुनचाँदीको मूल्यमा एकैदिन ठूलो गिरावट, सुन तोलामा ६ हजार ५०० र चाँदी १०५ रुपैयाँले सस्तियो

spot_img

काठमाडौँ । घरेलु बजारमा बुधबार बहुमूल्य पहेँलो धातु सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार ५०० रुपैयाँले ओरालो लागेको छ। नयाँ मूल्य निर्धारण भएसँगै आज बजारमा सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन अर्थात् मङ्गलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँको कीर्तिमानी मूल्यमा कारोबार भएको सुन आज तीव्र रूपमा घटेको हो। त्यसैगरी महासंघले आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६ हजार ९६० रुपैयाँ निर्धारण गरेको छ। विश्व बजारमा सुनको भाउमा आएको मन्दीका कारण नेपाली बजारमा पनि तीव्र सुधार देखिएको हो।

सुनसँगै सेतो धातु चाँदीको मूल्यमा पनि बुधबार गिरावट आएको छ। मङ्गलबार प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँमा सीमित भएको छ। साथै बुधबार १० ग्राम चाँदीको दर २ हजार ६०६ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा लगानीकर्ताहरूको नाफा सुरक्षित गर्ने प्रवृत्ति तथा अमेरिकी डलरको मजबुतीका कारण सुनको भाउमा विश्वव्यापी दबाब परेको विश्लेषकहरूको ठम्याइ छ। बिहे तथा चाडपर्वपछिको सिजनमा सुनको मूल्यमा आएको यो गिरावटले बजारमा नयाँ माग सिर्जना गर्न मद्दत पुग्ने अनुमान गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा