टुँडिखेलमा अनुमति नपाएपछि अग्रगामी मोर्चाको आन्दोलन घोषणा सर्‍यो, माइतीघरबाट कार्यक्रम गर्ने तयारी

spot_img

काठमाडौँ । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाले काठमाडौँको खुलामञ्च (टुँडिखेल) बाट सार्वजनिक गर्ने भनिएको आन्दोलन घोषणा कार्यक्रम स्थगित भएको छ। आगामी मङ्सिर १० गते टुँडिखेलमा जनप्रदर्शनसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिए पनि महानगरपालिकाबाट स्थान उपलब्ध हुन नसकेपछि कार्यक्रम केही दिन पर सारिएको मोर्चाले स्पष्ट पारेको छ।

जनमत पार्टीका महासचिव सञ्जय यादवका अनुसार टुँडिखेलमा कार्यक्रम आयोजनाका लागि काठमाडौँ महानगरपालिकामा बुझ्न जाँदा उक्त स्थल आगामी दुई महिनाका लागि पहिल्यै बुक भइसकेको जानकारी दिइएको थियो। साथै भृकुटीमण्डपमा समेत राजनीतिक गतिविधिका लागि स्थान नदिइने नीति रहेकाले वैकल्पिक स्थानको खोजी गर्नुपरेको मोर्चाका नेताहरूको भनाइ छ।

टुँडिखेलमा स्थान नमिलेपछि अब राजधानीको माइतीघर मण्डलाबाटै आन्दोलनको घोषणा गर्ने तयारी मोर्चाले अघि बढाएको छ। माइतीघरमा कुन दिन घोषणा कार्यक्रम गर्ने भन्ने विषय टुङ्गो लगाउन मङ्सिर १५ गते मोर्चाको निर्णायक बैठक बोलाइएको छ। सोही बैठकले आन्दोलनको नयाँ मिति र रणनीति तय गर्ने बताइएको छ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, प्रभु साह नेतृत्वको आजपालगायत ९ दल आबद्ध मोर्चाले मधेसी, आदिवासी जनजाति, दलित र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न आन्दोलनको तयारी गरेको हो। मोर्चाले अहिले जनकपुर र विराटनगरपछि धरानलगायत देशका विभिन्न प्रमुख सहरहरूमा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा