काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकाल्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।
लुम्बिनीले दिएको १५६ रनको विजयी लक्ष्य सुदूरपश्चिमले १३ दशमलव ३ ओभरमै विना क्षति पूरा गर्यो । सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विष्फोटक शतक प्रहार गरे । उनले मात्र ५४ बलमा १२ छक्का र ८ चौकाको मद्दतले अविजित १२५ रन जोड्दै एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत रनको नयाँ कीर्तिमान बनाए । उनलाई अर्का ओपनर विनोद भण्डारीले २७ बलमा ३० रन बनाउँदै दरिलो साथ दिए ।
यसअघि टस जितेर सुदूरपश्चिमले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । लुम्बिनीका दिलीप नाथले अविजित ४० रन बनाए भने कप्तान रोहित पौडेलले ३०, निरोसन डिकवेलाले २८, अलि शेखले २४ र डार्सी सर्टले २१ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेनले २ तथा दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र हेमन्त धामीले १–१ विकेट लिए ।
लगातार फाइनल पुग्दै आएको सुदूरपश्चिमले अघिल्लो संस्करणको उपाधि भिडन्तमा लुम्बिनीसँग बेहोरेको पराजयको बदला लिँदै पहिलो पटक एनपीएलको उपाधि हात पार्न सफल भएको छ ।


