‘पैसाको बलमा कांग्रेस कब्जा गर्ने दुष्प्रयास भयो’ : निर्वाचन आयोगको निर्णय र गगन थापामाथि देउवाको आक्रोश

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादले नयाँ मोड लिएको छ। पूर्वसभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णय प्रक्रियामा ठूलो आर्थिक लेनदेन र धम्कीको प्रभाव परेको दाबी गर्दै पार्टी सभापति गगनकुमार थापामाथि कडा राजनीतिक आरोप लगाएका छन्।

काठमाडौँमा शनिबार सम्पन्न नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिको १५औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले विधि र कार्यकर्ताको आस्थालाई लत्याएर पैसाको प्रभावमा पार्टी चलाउन खोजिएको जिकिर गरे।

‘आयुक्तलाई धम्क्याएर र पैसा बाँडेर पार्टी चल्दैन’

देउवाले निर्वाचन आयोगबाट पार्टी आधिकारिकता सम्बन्धी निर्णय गराउने क्रममा अवाञ्छित गतिविधि भएको उल्लेख गरे। निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिएर निर्णय प्रभावित पारिएको भन्ने समाचार आएको भन्दै उनले यसको उच्चस्तरीय छानबिन हुनुपर्ने अडान लिए।

सम्बोधनका क्रममा देउवाले भने, ‘१८ करोड रुपैयाँ लेनदेन भएको अभिव्यक्तिसमेत सार्वजनिक भइसकेको छ। पैसामा पार्टी बेच्नेहरूबाट कांग्रेसको भविष्य सुरक्षित हुन सक्दैन। कांग्रेस कुनै व्यापारीको कम्पनी होइन, यो लाखौँ जनताको रगत–पसिनाले सिञ्चित आन्दोलन हो।’

रुख चिह्न जोगाउन कानुनी लडाइँ जारी रहने

आफू अब कुनै व्यक्तिगत पदको लोभमा नरहेको स्पष्ट पार्दै देउवाले जीवनको उत्तरार्द्धमा पार्टीको निष्ठा जोगाउन संघर्ष गर्ने बताए। आधिकारिकता विवादमा अदालतले न्याय दिने अपेक्षा गर्दै उनले ऐतिहासिक चुनाव चिह्न ‘रुख’ जोगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।

‘पार्टी कसैको आर्थिक प्रभाव वा धम्कीमा होइन, विधि–विधान र लोकतान्त्रिक मान्यतामा उभिनुपर्छ,’ देउवाले कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गर्दै भने। काठमाडौँ जिल्ला अधिवेशनमा देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा