ओसुला र बार्न्सको गोलमा न्युक्यासलको सानदार जित, घरेलु मैदानमै स्तब्ध बन्यो क्रिस्टल प्यालेस
काठमाडौँ । इङ्लिस प्रिमियर लिगको आइतबारको प्रतिस्पर्धामा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० गोलअन्तरले पराजित गरेको छ । सेलहर्स्ट पार्कमा भएको प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा आक्रामक बन्दै न्युक्यासलले महत्त्वपूर्ण तीन अंक बटुलेको हो ।
पहिलो हाफमा दुवै टोलीले रक्षात्मक रणनीति अपनाए पनि दोस्रो हाफको ४७औँ मिनेटमा विलियम ओसुलाले सुन्दर गोल गर्दै पाहुना टोली न्युक्यासललाई अघि बढाए । त्यसको ११ मिनेटपछि अर्थात् ५८औँ मिनेटमा हार्भी बार्न्सले आकर्षक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
क्रिस्टल प्यालेसले खेलमा फर्कन गरेका थुप्रै प्रयासहरू न्युक्यासलको बलियो डिफेन्सका सामु असफल बने । खेलको उत्तराद्र्धमा न्युक्यासलका जो विलकको गोल भीएआरले अफसाइड देखाउँदै रद्द गरेको थियो । यस नतिजापछि न्युक्यासल तालिकाको सातौँ स्थानमा पुगेको छ भने पछिल्ला खेलहरूमा निरन्तर कमजोर प्रदर्शन गरिरहेको क्रिस्टल प्यालेस थप दबाबमा परेको छ ।

प्रतिकृया दिनुहोस्