महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
काठमाडौँ । नवरात्रको नवौँ दिन अर्थात् महानवमीको पावन अवसर पारेर हनुमानढोका दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर आज बिहानैदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । वर्षभरिमा केवल महानवमीका दिन मात्र दर्शन गर्न पाइने भएकाले बिहान ५ बजेदेखि नै श्रद्धालु भक्तजनहरूको लामो लाम लागेको छ ।
हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार आज साँझ ६ बजेसम्म भक्तजनहरूले तलेजु भवानीको प्रत्यक्ष दर्शन तथा पूजाआराधना गर्न पाउनेछन् । उपत्यका तथा आसपासका विभिन्न क्षेत्रबाट हजारौँको सङ्ख्यामा आएका दर्शनार्थीहरूको सहजताका लागि सुरक्षा व्यवस्था र लाइन व्यवस्थापनलाई चुस्त बनाइएको छ ।
धार्मिक तथा सांस्कृतिक आस्थाको धरोहर मानिने तलेजु भवानीलाई मल्लकालीन राजा हरिसिंहदेव र महिषपाल वंशसँग जोडेर हेर्ने गरिन्छ । यसअघि महाअष्टमीको राति मूलचोकमा शास्त्रीय एवं तान्त्रिक विधिअनुसार ५४ राँगा र ५४ बोकाको बलि दिएर तलेजुको भव्य कालरात्रि पूजा सम्पन्न गरिएको थियो ।
समितिको साइतअनुसार विजयादशमीसम्म तुलजा भवानीलाई मूलचोकमै राखेर नित्य पूजा सञ्चालन हुनेछ । भोलि विजयादशमीका दिन बिहान १०ः५१ बजे यात्रा गराएर ११ः५२ बजे मूल मन्दिरमा पुनः विराजमान गराइने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्