प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह र वर्तमान सरकारको चर्को आलोचना गरेको छ । सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले संवोधन गर्दा गर्दै प्रधानमन्त्रीले बहिष्कार गरेको चर्चाका बीच कांग्रेसले मंगलबार संसदमा कडा आपत्ति जनाएको हो । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको वर्तमान कार्यशैलीप्रति कटाक्ष गर्दै प्रधानमन्त्री बालेन शाहको कार्यशैलीलाई ‘अस्वाभाविक र असंसदीय’ को संज्ञा दिए ।
उनले संसदको मुख्य अधिकार र दायित्व मानिने कानुन निर्माणको कार्यलाई खोसेर सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप लगाए ।
सम्बोधनका क्रममा नेता आङ्देम्बेले भने, ‘आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर डेढ सयभन्दा बढी कानुन अध्यादेशमार्फत ल्याउनु संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमाथिको प्रहार हो। यस्तो प्रवृत्तिले सिर्जना गर्ने दूरगामी असर भयावह हुन सक्छ, जसलाई हाम्रो पार्टीले समर्थन गर्न सक्दैन।’
उनले सरकार ‘फेसबुक’ मा मात्रै तर्क गर्दै सुकुम्बासी र गरिब बस्तीमाथि क्रुरतापूर्वक डोजर चलाइएको र मानवीय संवेदनालाई कुल्चिएको भन्दै उनले सरकार ‘अभिभावक नभई यमदूत’ जस्तो बनेको आरोप लगाए ।
