काठमाडौं : नेकपा एमालेका पोलिटब्युरो सदस्य दलबहादुर रानाले पार्टीको सक्रिय राजनीति छाडेका घोषणा गरेका छन् ।
महाधिवेशनको अघिल्लो दिन शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् आफूले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन्।
पारिवारिक कारणले राजनीतिबाट बिदा लिएको भन्दै उनले एमालेको महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र महाधिवेशनमा पनि सहभागी नहुने जनाएका छन्।
राना २०३५ सालदेखि कम्युनिस्ट पार्टीमा सक्रिय भएका नेता हुन्। राना २०७० सालमा भूमि सुधार तथा व्यवस्थामन्त्री बनेका थिए।
उनी दुईपटक वडाध्यक्ष, दुईपटक प्रतिनिधिसभा सदस्य र एकपटक संबिधानसभा सदस्य बनेका थिए।
‘भोलीदेखि काठमाडौँमा हुने यो ऐतिहासिक एघारौँ राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट बिश्राम लिने निर्णयमा पुगेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सक्रिय राजनीतिकबाट बिदा लिए पनि पार्टी सदस्यको हैसियतबाट समय अनुकूलतामा आफुले आजसम्म प्राप्त गरेको अनुभवको आधारमा देश, जनता र पार्टीको हितमा क्रियाशील रहने प्रतिबद्धता समेत ब्यक्त गर्दछु।’
रामपुर नगरपालिका वडा १ पाल्पा पुर्ख्यौली घर भएका राना हाल बूढानीलकण्ठ नगरपालिका १० कपनमा बस्दै आएका छन्।

