October 17, 2026, Saturday
KN hd tv

टाढाको ग्रह के२–१८बीमा जीवनको सम्भावना, वैज्ञानिकहरू आशावादी

काठमाडौं – वैज्ञानिकहरूले पृथ्वीबाट टाढाको के२–१८बी नामक ग्रहमा जीवनको सम्भावना झल्काउने संकेतहरू फेला पारेका छन्। बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताले यस ग्रहको वायुमण्डलमा पृथ्वीमा सामान्य जीवहरूले मात्र उत्पादन गर्ने रसायनहरू भेटिएको जनाएका छन्।

नासाको जेम्स वेब स्पेस टेलिस्कोपमार्फत प्राप्त तथ्यांकको आधारमा वैज्ञानिकहरूले डाइमेथाइल सल्फाइड (DMS) र डाइमेथाइल डाइसल्फाइड (DMDS) भन्ने अणुहरूको उपस्थिति देखिएको बताएका छन्। पृथ्वीमा यी ग्यासहरू मुख्यतः समुद्री सूक्ष्म जीवहरूले उत्पादन गर्छन्।

अनुसन्धान टोलीका प्रमुख प्रोफेसर निक्कु मधुसूधनका अनुसार, “यो हालसम्मको सबैभन्दा बलियो सम्भावित प्रमाण हो कि के२–१८बीमा जीवन हुन सक्छ।” तर उनले यस संकेतलाई पुष्टि गर्न अझै १–२ वर्षसम्मको थप अनुसन्धान आवश्यक हुने बताए।

के२–१८बी पृथ्वीभन्दा झण्डै २.५ गुणा ठूलो छ र ७ सय ट्रिलियन माइल टाढा अवस्थित छ। वैज्ञानिकहरूले ग्रहको वायुमण्डलको अध्ययन गरेर ग्याँसको मात्रा पृथ्वीभन्दा हजारौँ गुणा बढी भएको उल्लेख गरेका छन्।

यद्यपि, वैज्ञानिक समुदायमा यसबारे गहिरो बहस चलिरहेको छ। ग्रहको संरचना र ग्याँसहरूको उत्पत्तिबारे विभिन्न मत छन्। केही वैज्ञानिकहरू यसमा विशाल तरल महासागर भएको तर्क गर्छन् भने अन्यले पग्लिएको चट्टानी सतहको संभावना उठाएका छन्, जसले जीवनको सम्भावनालाई चुनौती दिन सक्छ।

यद्यपि, वैज्ञानिकहरूले यो संकेत ब्रह्माण्डमा जीवन खोज्ने दिशामा एउटा महत्वपूर्ण मोड हुन सक्ने विश्वास व्यक्त गरेका छन्। प्रोफेसर मधुसूधनले भने, “यो समय भविष्यमा जीवित ब्रह्माण्ड हाम्रो पहुँचमा आएको क्षणको रूपमा सम्झिने सम्भावना छ।”

शीर्ष समाचार

धेरै पढिएको