काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले मर्मतसम्भारका लागि आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने जनाएको छ।
प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म लाइन काटिनेछ। कन्डक्टर अपग्रेडिङ कार्यका लागि उक्त फिडर सटडाउन गरिनेछ। सोही वितरण केन्द्रअन्तर्गत पर्ने सतुङ्गल फिडरको कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक आसपासका क्षेत्रमा पनि सोही समय विद्युत् आपूर्ति बन्द हुनेछ।
त्यसैगरी, जोरपाटी वितरण केन्द्रअन्तर्गत डाँछी फिडरका माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म लाइन काटिनेछ। मुलपानी पिपलबोटमा तार तान्ने कार्यका लागि पनि सोही समयमा लाइन कटौती गरिनेछ।
मुलपानी फिडरअन्तर्गत मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवलधारा, मनकामनामाई मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रबास र गजरकोट क्षेत्र पनि विद्युत् कटौतीमा पर्नेछन्।
साँखु फिडरअन्तर्गत नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङपौवा, नाङ्लेभारे, गागल, गागलफेदी, मुलपानी पिपलबोट लगायतका स्थानमा पनि आज विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ।
प्राधिकरणले निर्धारित कार्य समय अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आउने जनाएको छ।
