विराटनगर । थ्रीस्टार क्लबले विराट गोल्डकपको उपाधि आफ्नो नाम गरेको छ। बुधबार राति विराटनगरको सहिद रंगशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज क्लबलाई २–० ले पराजित गर्दै थ्रीस्टारले नवौँ संस्करणको उपाधि उचालेको हो।
थ्रीस्टारका लागि खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरेका थिए। खेलको पाँचौँ मिनेटमै नवीन लामाको क्रस पासलाई खेमराजले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए। दोस्रो गोल ६३ औँ मिनेटमा दिपेश घलेले गरे। डिबक्सभित्र वान भर्सेस वानमा गरेको उनको प्रहार चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र थापाबाट फर्किएपछि उनले दोस्रो प्रयासमा जाली चुमाएका थिए।
उपाधिसँगै थ्रीस्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँ हात पार्यो। फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिम सहभागी थिए।
