काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकमा नेपाल प्रहरीका एआइजी र सचिव बढुवा समावेश रहेको कार्यसूची रहेको छ।
नेपाल प्रहरीका एआइजी पदमा डिआइजी जनक भट्टराईको बढुवा सिफारिस मन्त्रिपरिषदमा पठाइएको छ। त्यस्तै, सचिवका दुई रिक्त पदमा पनि बढुवाको सम्भावना छ। स्वास्थ्य सचिवमा वरिष्ठ सहसचिवहरू डा. संगीता कौशल मिश्र, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम एक साताअघि सिफारिस भएको थियो, जसमा एकको बढुवा गर्ने निर्णय हुनेछ।
नक्कली भुटानी शरणार्थी मुद्दामा कारागारमा रहेका सचिव टेकनारायण पाण्डेले अवकाश पाएपछि रिक्त रहेको सचिव पदमा पनि बढुवा हुँदैछ। प्रशासनतर्फको रिक्त सचिव पदमा बीरेन्द्रकुमार यादब, मदन भुजेल र चन्द्रकला पौडेलको सिफारिस भएको छ।
