November 21, 2024, Thursday
KN hd tv

इजरायली प्रधानमन्त्री नेतान्याहूको घरमा फेरि बम आक्रमण, यसरी जोगिए

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरमा फेरि बम आक्रमण गरिएको छ । इजरायलको उत्तरी शहर कैसरियामा रहेको प्रधानमन्त्री नेतान्याहूको घरतर्फ दुईवटा फ्ल्यास बम प्रहार गरिएको हो । जसबाट उनको बगैंचामा क्षति पुगेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार आक्रमणको समयमा प्रधानमन्त्री नेतान्याहू र उनका परिवारका कुनै पनि सदस्य घरमा थिएनन् । उक्त बम आक्रमणबाट ठूलो क्षति भएको छैन ।  यसअघि पनि प्रधानमन्त्री नेतान्याहूको घरलाई लक्षित गरेर बम आक्रमण भएको थियो। शनिबार भएको बम आक्रमण घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । 

इजरायली राष्ट्रपति इसहाक हर्जोगले सामाजिक सञ्जाल ‘एक्स’मा यो घटनाको निन्दा गर्दै अनुसन्धान भइरहेको बताएका छन् । उनले प्रधानमन्त्री नेतान्याहूविरुद्धका गतिविधिहरूले सबै सीमा नाघेको बताएका छन् । रक्षा मन्त्री इतामार बेन–गविरले पनि एक्समा लेख्दै प्रधानमन्त्रीको घरमा फ्ल्यास बम प्रहार गर्नु अर्को ‘लाल रेखा’ पार गर्नु हो भनेका छन् । गत अक्टोबरमा पनि कैसरियास्थित प्रधानमन्त्रीको घरतर्फ ड्रोन आक्रमण गरिएको थियो, जसमा कुनै क्षति पुगेको थिएन । उत्तरतर्फ इजरायली सेना अक्टोबर २०२३ देखि लेबनानी सशस्त्र समूह हिजबुल्लासँग संघर्षरत छ । 

गाजामा इजरायली आक्रमण, १० जनाको मृत्यु
गाजा सहरको शाती शरणार्थी शिविरमा रहेको एक स्कूलमा इजरायली आक्रमण हुँदा १० जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । चिकित्सकहरूका अनुसार यस शरणार्थी शिविरमा धेरै परिवारहरूलाई आश्रय दिइएको छ ।
फिलिस्तिनी स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार दिनभरि भएका इजरायली सैन्य आक्रमणहरूमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७, २०२३ देखि हालसम्म ४३ हजार ७९९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । इजरायली तथ्यांकअनुसार, हमासका लडाकुहरूले गत वर्ष करिब १,२०० जना इजरायलीलाई मारेका थिए ।  हालसम्म करिब २५० जना बन्धक बनाएका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको