October 18, 2024, Friday
KN hd tv

उपसभामुख प्रकरणमा रास्वपाले भन्यो : गठबन्धनले रास्वपाको छवि धूमिल पार्न रचेको षड्यन्त्र 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा औपचारिक धारणा सार्वजनिक गर्दै अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकीर गरेको छ । उसल यो प्रकरणलाई  ‘मध्यरातमा ठडिएको (कांग्रेस–एमाले) गठबन्धनले रास्वपाको छवि धूमिल पार्न रचेको षड्यन्त्र’ भएको दाबी गरेको छ । 

रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् । लैंगिक समानता, महिला अधिकार र सशक्तीकरणमा काम गर्ने अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था सीएसडब्लूको वार्षिक सत्रमा भाग लिन उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि जान लागेको भन्दै उनले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेको तथ्य बाहिर आएको थियो। तर, उपभामुखको पत्रमा दूतावास विश्वस्त नभएकाले पाँच जनाले भिसा पाएनन् ।

कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयासस्वरूप यस्ता कार्य भइरहेको समेत रास्वपाले आरोप लगाएको छ । ‘रास्वपाको छवि धूमिल पार्ने दुषित मनसायबाट छद्म रूपमा भइरहेका यस्ता गलत प्रहारहरूबाट विचलित नभई रास्वपा सुशासन, सामाजिक न्याय र द्रुत आर्थिक विकासको मार्गमा नेपाललाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतामा अडिग रहनेछ भन्ने आश्वस्त पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् । आर्थिक लेनदेनसँग सम्बन्धित अडियो संवादसमेत सार्वजनिक भएको छ । त्यसको सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको रास्वपाले जनाएको छ । सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गरेको अडियो कुराकानी पनि पार्टीसँग सुरक्षित रहेको उनले उल्लेख गरेका छन्। 

उपसभामुख रानाका विषयमा निष्पक्ष छानबिनका लागि आफू तयार रहेको पनि उसले बताएको छ। ‘विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन, भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको छ’, रास्वपाले विज्ञप्तिमार्फत भनेको छ, ‘उपसभामुखज्यूलगायत अन्य नेताहरूबाट कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भए/नभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका पक्षमा रास्वपा सधैँ रहिआएको सम्बन्धित सबैमा स्पष्ट पार्न चाहन्छौँ।’

रास्वपाले निष्कलंक छविकै कारण रानालाई सांसद र उपसभामुखको उम्मेदवार बनाएको दाबी पनि रास्वपाले गरेको छ। ‘आफ्ना सारा आम्दानी र सम्पत्ति निःस्वार्थ समाजसेवामा लगाउनुभएकी उपसभामुखज्यू विभिन्न प्रतिष्ठित राष्ट्रियरअन्तर्राष्ट्रिय पुरस्कारबाट समेत विभूषित हुनुहुन्छ’, विज्ञप्ति भनिएको छ, ‘उहाँको निष्कलंक र उज्यालो छविकै कारण रास्वपाले उहाँलाई पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको हो। यद्यपि पदमा निर्वाचित भइसकेपछि इन्दिरा राना मगर पार्टीको सदस्य नरहनुभएको सर्वविदितै छ।’

शीर्ष समाचार

धेरै पढिएको