October 23, 2024, Wednesday
KN hd tv

४७ जना फरार मुद्दाका पक्राउ, रु १० लाख राजश्व सङ्कलन

तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार ४७ जनालाई पक्राउ गरेको छ ।

अदालतबाट फैसला भई दण्ड, जरिवाना, धरौटी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको हो । यसरी पक्राउ परेका फरार व्यक्तिबाट रु १० लाख राजश्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिको खोजी गर्ने कार्यलाई तीव्रता दिन अभियानकै रूपमा थालिएपछि उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

” एकै व्यक्तिबाट सात लाख बढी राजश्व सङ्कलन जालसाजी मुद्दामा फरार रहेका जिल्लाको बन्दीपुर गाउँपालिका–२ पार्चे तीनपाटे निवासी ७२ वर्षीय रुद्रबहादुर कामीबाट रु सात लाख २५ हजार राजश्व सङ्कलन भएको छ । कामीउपर तनहुँ जिल्ला अदालतको विसं २०७४ भदौ ४ गतेको फैसलाले उक्त रकम जरिवाना फैसला गरेको थियो । निज व्यक्तिलाई आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा प्रहरीले फेला पारी कानूनी रीतपूर्वक पक्राउ गरी तनहुँ जिल्ला अदालतसमक्ष पेश गरिएको थियो । मास्क नलगाउने चौध सयलाई कारवाही जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको समयमा मास्क नलगाई हिँडडुल गर्ने एक हजार ४०० जनालाई कारवाही गर्दा रु एक लाख ४० हजार राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

तनहुँका नौ पालिकामा निषेधाज्ञा जारी गरेपछि जिल्लाका विभिन्न क्षेत्रमा मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिलाई कारवाहीस्वरुप रु १०० का दरले जरिवाना गर्दा उक्त रकम सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । हाल विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसविरुद्धको जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको निर्देशनबमोजिम तनहुँ जिल्लावासी जनतामा सचेतना जगाउँदै आएको प्रजिअ आचार्यले बताउनुभयो ।

पछिल्लो समयमा कोरोना भाइरस अनपेक्षितरूपमा फैलिँदै आएकाले त्यसको प्रत्यक्ष असर समुदायस्तरमा समेत देखापरेकाले वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामका लागि मास्क नलगाई पैदल हिँड्ने तथा सवारी साधन चलाई हिँड्ने व्यक्तिलाई कारवाही गरिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन एवं जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सक्रियतामा गत भदौ १ गतेदेखि प्रतिव्यक्ति रु १०० का दरले जरिवाना गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

शुरुमा पहिलोपटक मास्क लगाएर मात्रै हिँड्न भनेर सचेतना गराए पनि पटक–पटक जानकारी गराउँदा पनि अटेर गर्ने व्यक्तिलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको