घानाका खेलाडीले खिसी गरेको भन्दै रोनाल्डोले व्यक्त गरे असन्तोष

दोहा– गोल हानेपछि उत्सव मनाउने आफ्नो शैलीलाई घानाका खेलाडीले खिसी गरेको भन्दै पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले असन्तोष व्यक्त गरेका छन्।

बिहीबार भएको खेलमा ८९ मिनेटमा सर्वियाली क्लब रेड स्टार बेलग्रेडबाट व्यवसायिक फुटबल खेल्ने घानाका स्ट्राइकर ओसमान बुकारीले पोर्चुगलविरूद्ध गोल गरेका थिए।

टिमका लागि यो दोस्रो गोल थियो। उनले निर्धारित समयको खेल सकिन एक मिनेटअघि गोल गरेपछि रोनाल्डोको खिसी उडाउँदै उनको जस्तै गोलको उत्सव मनाएका थिए।

बुकारीको व्यवहारबाट चित्त दुखाएका रोनाल्डोले बेञ्चमा बसेर असन्तुष्टि जाहेर गरेका थिए। रोनाल्डोलाई ८८ मिनेटमा पदस्थापन गर्दै गोन्सालो रामोसलाई मैदानमा छिराइएको थियो।

पोर्चुगलले यो खेल ३–२ गोलले जितेको थियो। रोनाल्डोले ६५ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै आफ्नो देशलाई सुरुवाती अग्रता दिलाएका थिए।

विवादकाबीच ३७ वर्षीय रोनाल्डोसँग केही दिनअघि मात्र बेलायतको चर्चित क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्धन सम्झौता रद्द गरेको थियो। आफूमाथि चौतर्फी हमला भइरहेको बेला बुकारीको व्यवहारले उनी दुःखी देखिएका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा