काठमाडौं – प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । न्यायाधीश माथेमाको एकल इजलासमा बुधबार रिट निवेदनमाथि सुनुवाइ हुने गरी पेसी तोकिएको हो ।
मन्त्रिपरिषद वैठकले नेपाल प्रहरीको २९ औं आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका हुन् ।
एआईजी पोखरेलले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णयलाई चुनौती दिँदै रिट निवेदनमा परमादेश माग गरेका छन् । नवनियुक्त महानिरीक्षक सिंहले पद बहाली गरिसकेका छन् भने उनको नियुक्तिलाई लिएर असन्तुष्ट रहेका पोखरेल भने एक महिना लामो बिदामा बसेका छन् ।
