मन्त्रालयपिच्छे पाँच सांसद खटाउँदै रास्वपा, के हुन्छ भूमिका ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसदहरूलाई मन्त्रायलमा खटाउने तयारी गरिएको छ ।
रास्वपाले विषयविज्ञता र भूगोलका आधारमा सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउने निर्णय गर्न लागेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा रास्वपाकी सहायक प्रवक्ता प्रतिभा रावलका अनुसार, मन्त्रालयको आकार हेरर सांसदहरूलाई मन्त्रालयमा खटाइनेछ ।
“मन्त्रालयको सानो–ठूलो आकार हेरर सांसदहरूलाई खटाउने तयारी छ । यसको निर्णय भइसकेको छैन् । पार्टीले निर्णय गर्छ । छलफल भइरहेको छ,” उनले भनिन् ।
रास्वपाले यसअघिको निर्वाचनमा गृहसहित चार मन्त्रालय सम्हाल्दा पनि यो अभ्यास गरेको उनले सम्झाइन् ।
“हामीले यो अभ्यास पहिले चारवटा मन्त्रालय सम्हाल्दा पनि गरेका थियौँ । सोही अनुभवका आधारमा यसपटक पनि सांसदहरूलाई मन्त्रालयमा खटाउने तयारी हो । आममान्छेका माग, मुद्दा र सबै किसिमका समस्यालाई समाधान गर्न सहज हुनेछन्,” उनले भनिन् ।
रास्वपाले ०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २२ सिट जित हासिल गरेको थियो । तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी भएको थियो ।
रास्वपाले गृहसहित चार मन्त्रालयको नेतृत्व गरेको थियो ।
के हुन्छ मन्त्रालयमा खटिने सांसदको भूमिका ?
रास्वपा स्रोतका अनुसार, प्रतिमन्त्रालय पाँचजनाका दरले सांसदलाई खटाउने तयारी भइरहेको छ, जसमा विषयविज्ञका रूपमा दुईजना र तीनजना फरक–फरक भूगोलका सांसदलाई खटाइने छ ।
रास्वपाका अनुसार, मन्त्रालयका खटिने पाँचजनामध्ये दुईजनालाई विषयविज्ञका रूपमा राखिनेछ । सांसदको काम विज्ञ, कर्मचारीलगायत टोलीसँग छलफल सहजीकरण गर्नेछ । बाँकी तीनजना सांसदले भूगोलको आधारमा सहजीकरण गर्नेछन् ।
तीनजना फरक–फरक भूगोलबाट निर्वाचित सांसदले आफ्नो प्रदेश र क्षेत्रका मानिसहरूको समस्या सुन्ने, उनीहरूसँग भेटघाट गर्ने र त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि भूमिका निर्वाह गर्नेछन् ।
“देशभरिका सबै समस्याहरूलाई सरकारसम्म पुर्याउने र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने मुख्य भूमिकामा उहाँहरू रहनुहुनेछ । मन्त्रालयका खटिने सांसदले पुलको भुमिका निर्वाह गरिदिनुहुन्छ,” मन्त्री रावलले भनिन् ।
सरकारप्रति जनताले गरेको आशालाई मूर्त रूप दिन रास्वपाले यस्तो निर्णय गर्न लागेको उनले बताइन् ।
“केन्द्रीय विभागका सदस्यहरूलाई पनि खटाइनेछ । सांसदहरूलाई सिकाइ पनि हुन्छ । अहिलेको अनुभव पछिसम्मका लागि पनि काम लाग्छ,” उनले भनिन् ।
२१ फागुनमा भएको चुनावमा रास्वपा एक्लैले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको थियो ।
त्यसपछि चैत १३ गते वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठन गरिएको थियो । सरकारको भूमिका र कामबारे सबै पार्टीका सांसदसँग क्षेत्रगत समस्यबारे प्रधानमन्त्रीले छलफल चलाएका छन् ।
सोमबार मात्र कोसी र कर्णाली प्रदेशका समस्याका विषयमा सांसदसँग छलफल गरेका थिए । मंगलबार पनि प्रधानमन्त्री बालेनले सुदूरपश्चिम प्रदेशका सांसदसँग छलफल गरेका छन् ।

प्रतिकृया दिनुहोस्