October 20, 2026, Tuesday
KN hd tv

‘सडकको सरकार’ बनेर जनताको सेवा गर्ने घिसिङको घोषणा

काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनावमा पराजित भए पनि जनतामाझ सक्रिय शक्तिका रूपमा उभिएको दाबी गरेका छन्। बुधबार सुकेधारामा सम्पन्न बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले अब ‘सडकको सरकार’ बनेर जनताको सेवा गर्ने बताएका हुन्।

देशमा राजनीतिक स्थायित्वका लागि जनताले एउटा दललाई झन्डै दुई तिहाइ बहुमत दिएको स्वीकार गर्दै उनले आफ्नो पार्टीले सडकबाट खबरदारी गर्ने म्यान्डेट पाएको बताए। जनताको मुद्दा सडकबाटै उठाउने र राष्ट्रियता, समृद्धि तथा जनजीविकासँग सम्बन्धित विषयमा सशक्त भूमिका खेल्ने उनको भनाइ छ।

‘सरकारका राम्रा कामको समर्थन र गलत कामको कडा आलोचना गर्दै देशलाई सही बाटोमा हिँडाउन हामी सधैँ तत्पर रहनेछौँ,’ उनले भने।

चुनावलत्तै केन्द्रीय कमिटी बैठक बसेर देशभरका उम्मेदवारसँग समीक्षा गरिसकेको जानकारी दिँदै उनले आगामी कार्यदिशा तय भइसकेको बताए। पार्टीले सातै प्रदेशमा भेला आयोजना गर्ने तालिका सार्वजनिक गर्दै बागमतीपछि चैत १४ गते मधेस प्रदेशमा कार्यक्रम हुने जानकारी दिए।

प्रदेशस्तरका कार्यक्रमपछि जिल्ला, पालिका र वडा तहसम्म सङ्गठन विस्तार गर्ने अभियान सुरु भइसकेको उनले बताए। छोटो समय र सीमित सङ्गठनका बाबजुद जनताबाट प्राप्त मत र समर्थनलाई उच्च सम्मान गर्ने उनले उल्लेख गरे।

चुनावी अभियानका क्रममा जनताको घरदैलो र डिजिटल माध्यममा अपेक्षाकृत पहुँच नपुगेको स्वीकार गर्दै उनले आगामी एक वर्षभित्र पार्टीलाई देशकै सशक्त शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको बताए।

आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा उल्लेख्य उपस्थिति जनाउने लक्ष्यसहित कार्यकर्तालाई अनुशासित र मर्यादित भएर सङ्गठन निर्माणमा जुट्न उनले निर्देशन दिए। पार्टीले आन्तरिक छलफलबाट ठोस निष्कर्ष निकाल्दै नयाँ उत्साहका साथ अघि बढ्ने उनले विश्वास व्यक्त गरे।

शीर्ष समाचार

धेरै पढिएको