निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह
काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदान सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको जानकारी दिएका छन् ।
आसन्न निर्वाचनको सन्दर्भमा शान्ति सुरक्षा र तयारीबारे गृह मन्त्रालयमा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा उनले यसपटकको निर्वाचन अघिल्लाभन्दा बढी सुदृढ, स्वच्छ र भयरहित हुने विश्वास व्यक्त गरेका हुन् ।
गृहमन्त्री अर्यालले भने, ‘सबै सुरक्षा संयन्त्रहरू मतदानस्थलसम्म परिचालित भइसकेका छन् । आवश्यक परेको खण्डमा सहज नियन्त्रणको लागि सबै तयारी छ ।’ निर्वाचनका क्रममा कुनै अवैध गतिविधि भए कानुनी कारबाही गरी दोषीलाई अदालतमा पेस गरिने उनले स्पष्ट पारे।
सुरक्षा व्यवस्थाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यक परेमा नेपाली सेनालाई समेत परिचालन गर्ने योजना रहेको जानकारी उनले दिए।
मतदातालाई सुझबुझका साथ मतदान गर्न आग्रह गर्दै उनले भने, ‘निर्वाचनले प्रतिनिधि छान्ने मात्र नभई राजनीतिक सुशासन कायम गर्न महत्त्वपूर्ण योगदान दिनेछ । मतदाताले सुझबुझका साथ मतदान गर्नुहुनेछ ।’
मतपत्र व्यवस्थापन प्रक्रिया विगतझै एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सञ्चालन हुने उनले बताए। मतदान सम्पन्न भएपछि मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयसम्म सुरक्षित रूपमा पुर्याउने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्