October 20, 2026, Tuesday
KN hd tv

निर्वाचन प्रचारमा रुफटप गाडीमा रोक

काठमाडौँ : आगामी निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले रुफटप (गाडीको छतमाथि चढेर) सवारीको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ। बैठकले उम्मेदवार र आम नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै, निर्वाचन अवधिभर रुफटप गाडीको प्रयोगले सुरक्षा जोखिम बढाउने निष्कर्ष निकालेको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले यसबारे जानकारी दिँदै भने, ‘निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिइएको छ।’ उनले सुरक्षा संयन्त्रलाई सतर्कता अपनाउन र निर्वाचन आचारसंहिता र मापदण्डको पूर्ण पालना सुनिश्चित गर्न आग्रह गरिएको जनाए।

बैठकले मतपत्र ढुवानी प्रक्रियालाई त्रुटिरहित, सुरक्षित र पारदर्शी बनाउन विशेष समन्वयात्मक संयन्त्र सक्रिय पार्ने निर्णय पनि गरेको छ। साथै, मतदान केन्द्रमा खटिने कर्मचारीहरूको छनोट र परिचालनमा निष्पक्षता र तटस्थता कायम राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

गृहमन्त्री ओम प्रकाश अर्यालले निर्वाचन व्यवस्थापनसँग जोडिएका कार्यमा धाँधलीमा संलग्न भेटिए कडा कारबाही गरिने चेतावनी दिएका छन्। उनले भने, “समान्य रूपमा सुटसुटै छुट र पुरस्कार दिने प्रवृत्ति यसपटक चल्दैन।” उनले सबै कर्मचारीलाई निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित तवरले सम्पन्न गर्न तटस्थ भूमिका खेल्न आग्रह गरेका छन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा संवेदनशीलता बढ्दै गएको देखिएको छ र केन्द्रीय सुरक्षा समितिको निर्णयलाई निर्वाचन वातावरणलाई मर्यादित र व्यवस्थित बनाउने प्रयासको रूपमा हेरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको