वीरगन्जमा अवैध गोदाममा छापा, तस्करको आक्रमणबाट तीन प्रहरी घाइते
काठमाडौँ : पर्साको वीरगन्जमा अवैध रूपमा सञ्चालित गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–१० मा रहेको गोदाममा सोमबार बिहान कारबाहीका लागि पुगेको टोलीमाथि आक्रमण भएको हो ।
आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा कपडा भण्डारण गरिएको सूचनाका आधारमा सशस्त्र प्रहरीले छापा मारेको जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सो गोदामबाट करिब सात लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ।
कपडा नियन्त्रणमा लिएपछि तस्कर समूह आक्रोशित बनेर आक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ । उनीहरूले ढुंगामुढा गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीका दुई वटा सवारी साधनमा समेत क्षति पुगेको छ ।
घटनापछि थप अनुसन्धान र आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्