October 20, 2026, Tuesday
KN hd tv

हिमाली जिल्लाहरूमा भारी हिमपात, जनजीवन प्रभावित (फोटोफिचर)

काठमाडौंः बुधवार बिहानै देखि परेको हिउँका कारण हिमाली जिल्लाहरूको जनजीवन कष्टकर बनेको छ । बिहानै देखि परेको हिउँ एक फिटसम्म परेकाले चौपाया र मानिसलाई बाहिर निस्कन कठिन भएको स्थानीयहरूको भनाई छ ।

बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताए । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।

यसैगरी ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि बाक्लो हिउँ परेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् ।

हिमपातका कारण धारामा पानी जमेको छ । निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ । हिमपातसँगै हिउँदे बाली सप्रने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन् ।

यता मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात भएको छ । बिहानै देखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।

सशस्त्र प्रहरी कार्यालयका अनुसार भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए।

त्यसैगरी, सिमकोटस्थित रासस समाचारदाताका अनुसार हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ । हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन् ।

यसैबीच, बाजुरस्थित राससकर्मीका अनुसार जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ ।

हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले बताए ।

हिमपातपछि सेताम्मे देखिएको बैतडीको सिगास गाउँपालिका ९ बाटुले टोल आसपासको क्षेत्र । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको छ । तस्बिरः रासस

हिमपातपछि सेताम्मे देखिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनी आसपासका क्षेत्र । मङ्गलबार रातिदेखि परेको हिमपातले यहाँ जनजीवन कष्टकर बनेको छ । तस्बिरः रासस

हुम्लामा मङ्गलबार रातिदेखि हिमपात भएपछि बुधवार बिहान हिउँले सेताम्मे देखिएको सदरमुकाम सिमकोट आसपासका क्षेत्र । हिमपातसँगै स्थानीयको जनजीवन प्रभावित बनेको छ । तस्बिरः रासस

शीर्ष समाचार

धेरै पढिएको