आज माघे संक्रान्ति पर्व मनाइँदै
काठमाडौँ : सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुन्छ । यसपछि दिन लामो र रात छोटो हुँदै जान्छ । उत्तरायण सुरु हुने दिन स्नान, जप, तप, ध्यान र दानलाई पुण्यदायक मानिन्छ।
यस अवसरमा आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ। ती स्थानमा विशेष मेला पनि लाग्ने गर्छ।
तराई क्षेत्रमा माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाइन्छ। वर्षभर नुहाउन कठिन हुने तराईवासीले आज अनिवार्य स्नान गर्नुपर्ने मान्यता राख्छन् । बिहान तीर्थस्थलमा स्नान गरी तिल दान गर्नाले सुन दान गरेसरह पुण्य मिल्ने धार्मिक विश्वास छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार नखाने, दान नगर्ने, स्नान र ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ।
उत्तरायणपछि शुभ कर्म गर्न उत्तम मानिन्छ। आज स्नान, दान, व्रत र ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूरा हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो र खिचडी खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ। आयुर्वेद चिकित्सकका अनुसार यस्ता खानाले त्रिदोष नाश गर्छन् ।
कतिपय ठाउँमा पुसको अन्तिम दिन तरुल पकाएर माघमा खाने प्रचलन छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानसँग जोडिन्छ। आज तिलको तेलले मालिस गर्दा शरीरका दूषित पदार्थ बाहिर निस्कने विश्वास पनि छ ।
सूर्य उत्तरायण भएपछि हुने मृत्युलाई उत्तम मानिन्छ । महाभारतका पात्र भीष्मले सूर्य उत्तरायण भएपछि नै शरीर त्यागेको उल्लेख पाइन्छ। आज भक्तपुरको तिलमाधव नारायण स्थानमा पनि मेला लाग्ने गर्छ ।
माघ महिनामा माघ माहात्म्यको विशेष महत्त्व छ । स्कन्द पुराणअन्तर्गत केदार खण्डको संवादका रूपमा स्वस्थानी कथा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वाचन गरिन्छ।
यसैबीच, माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउने भएको छ। माघ १ गते कन्दमूल सेवन गरिने परम्पराका कारण गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।

प्रतिकृया दिनुहोस्