‘यही दरमा संक्रमित बढिरहे उपत्यकाले दशैंसम्म पनि थाम्दैन’
काठमाडौं – नेपालमा पछिल्लो केही सातायता कोरोना भाइरस (कोभिड-१९) संक्रमितको दर ह्वात्तै बढेको छ।
दुई साता अघिसम्म सयकै हाराहारीमा देखिने संक्रमण दुई हप्तायता दुई हजारमाथि देखिन थालेको छ। गत बिहीबार त एकै दिनमा संक्रमितको संख्या करिब चार हजारको नजिकनै पुगेको थियो। यसरी पछिल्लो समय काडमाडौं उपत्यकासहित देशभर संक्रमितको संख्या बढ्नुमा पिसिआर परीक्षणको दायरासमेत बढ्नु रहेको बताइएको छ। यस्तै, पछिल्लो समय लामो लकडाउन निषेधाज्ञापछि बजारमा मानिसको चहलपहल तथा ठूला सहरहरुमा मानिसको भिडभाड बढ्नु रहेको बताइएको छ। यस्तै, नागरिकले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउनुले पनि कोरोना संक्रमितको दर बढ्न थालेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमको भनाइ छ।
जसले गर्दा मन्त्रालयका प्रवक्ता प्राडा. गौतमले हरेक दिनको प्रेस ब्रिफिङमा नियमितजसो नागरिकलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न सुझाव दिइरहेका हुन्छन्। उनले दैनिक जसो भन्ने गर्छन्, ‘कोरोना संक्रमणबाट सबैभन्दा उत्तम विकल्प जनस्वास्थ्यको मापदण्ड पालना गर्नु हो त्यसैले सबैले यसको पालना गरौँ।‘ भदौको अन्तिमसम्म आठ/१० हजारको दरमा पिसिआर परीक्षण हुँदै आएकोमा अहिले करिब १३ हजारभन्दा बढी पुगेको छ। शुक्रबार १३ हजार ८७९ पिसिआर परीक्षण गरिएको छ। यससँगै संक्रमितको संख्या पनि बढ्दो छ। विगतको भन्दा अहिले उपत्यकामा नै धेरै संक्रमित फेला पर्न लागेका छन्। यही स्थिति रहे दशैंसम्म पनि उपत्यकाले कोरोना संक्रमितको भार थाम्न नसक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताउँदै आएका छन्। दैनिक एक हजारभन्दा बढीको संख्यामा त उपत्यकाभित्रै संक्रमित थपिँदैछन्। शुक्रबार देशभर दुईहजार ५९ संक्रमित थपिएकोमा उपत्यकाभित्र मात्रै एक हजार चारसय ९ जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा एक हजार एकसय १६, भक्तपुरमा एकसय ३० र ललितपुरमा एकसय ६३ जना रहेका छन्। यस्तै, देशभर हालसम्म एकलाख संक्रमित नाघिसकेका छन्। शुक्रबार थपिएकासँगै देशभर एकलाख ६ सय ७६ जना कोरोना संक्रमित पुगेका छन्।
कोरोना संक्रमणसँगै मृत्युदर पनि बढिरहेकाले सबैलाई सचेतना अपनाउन मन्त्रालयले अनुरोध गरेको छ। उपत्यकाबाहिरका जिल्लामा कोरोना नियन्त्रणमा आउँदै गर्दा काठमाडौंसहित भक्तपुर र ललितपुरमा भने जनघनत्व धेरै भएकाले संक्रमण उच्च बन्दैछ। असोज २२ मा हालसम्मकै धेरै पिसिआर परीक्षण नेपालमा कोरोना संक्रमण देखिएको ९ महिनाको अवधिमा हालसम्मकै धेरै पिसिआर परीक्षण गत असोज २२ गते भएको थियो। सो दजिन देशभर १८ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण गरिएको थियो। जसमा ४३ सय ८४ जनामा कोरोना पुष्टि भएको थियो। नेपालमा कोरोना संक्रमण समुदायमा पुगिसकेको अवस्थामा पिसिआर परीक्षणको दायरा पनि बढाएको बताएको छ।
मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘संक्रमण समुदायमा फलिइसकेको अवस्थामा अब धेरैभन्दा धेरै पिसिआर परीक्षण गरेर संक्रमित पत्ता लगाई थप संक्रमण फैलन नदिनुनै अबको प्राथमिकता हो, अहिले नै समुदायस्तरमा परीक्षण बढाएर संक्रमित पत्ता लगाउन सकियो भने अझै संक्रमण नियन्ण बाहिर गएको छैन।‘ २७ हजार बढी संक्रिय संक्रमित देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। क्वारेन्टाइनमा भने चार हजार ७ सय ३ जना बसेका छन्। कोरोना जित्नेको दर ७२ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।thahakhabar
प्रतिकृया दिनुहोस्