October 20, 2026, Tuesday
KN hd tv

पशुपतिनाथका चारै ढोका खुला, चक्रपथमा निःशुल्क बस सेवा

काठमाडौं । साउनको पहिलो सोमबार आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका निम्ति खुला गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले उक्त जानकारी दिँदै दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमान गरी व्यवस्था मिलाइएको बताए ।साउन महिनाको सोमबार वैदिक सनातन हिन्दु धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसनिम्ति विश्वसम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान ३ बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो ।

साउन महिनामा विशेष पूजाका निम्ति सात हजार ५०० रुपैयाँभन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ ।

साउने सोमबारका अवसरमा विशेष गरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले यस दिन बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।भक्तजनका निम्ति मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ । यो व्यवस्था सोमबारबाहेकका दिन पनि निरन्तर हुनेछ ।

कोषले यो वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन गर्न आउनेका निम्ति चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ । चक्रपथ परिक्रमा गरेर चार बसले भक्तजनलाई सेवा दिने कोषले जनाएको छ । यो सेवा साउनका चारै सोमबार निरन्तर रहने जनाइएको छ । रासस

शीर्ष समाचार

धेरै पढिएको