June 2, 2023, Friday
२०८० जेष्ठ २०, शनिबार
KN hd tv

पिसिआर नहुँदा सर्लाहीका सबै आइसोलेसन रित्तिए

सर्लाही – कोरोना सङ्क्रमितलाई राख्न बनाइएका जिल्लाका सबै आइसोलेसन रित्तिएका छन्। 

जिल्लाका कुनै पनि आइसोलेसनमा हाल संक्रमित नरहेका जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ।  पिसिआर रिपोर्ट पोजिटिभ आएको १४ दिन नपुगेकाहरु ८७ जना छन्। संक्रमितमध्ये दुई जना जिल्लाबाहिर उपचारत छन् भने बाँकी ८५ जना आ–आफ्नो घरमै बसिरहेका छन्। 

जिल्लाभरका कुल दुई हजार ७२ जना सङ्क्रमितमध्ये एक हजार ९ सय ७६ जना डिस्चार्ज भइसकेका छन्। केहीलाई दोस्रो पटक पिसिआर रिपोर्ट नेगेटिभ आएपछि र अधिकांशलाई सरकारले तय गरेको मापदण्ड अनुसार १४ दिन आइसोलेसनमा बसेपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय सर्लाहीका (कोभिड–१९) फोकल पर्सन सुशील कुमार झाले जानकारी दिए।  कोरोना सङ्क्रमणबाट जिल्लामा अहिलेसम्म मलंगवा, लालबन्दी र हरिपूर्वामा दुई/दुई जना, बरहथवा, हरिपुर र चक्रघट्टा एक÷एक जना गरी नौ जनाको मृत्यु भएको छ। 

पछिल्ला दिनमा पालिकाहरुले पिसिआर परीक्षण गर्न छाडेका छन्। परीक्षण नहुँदा जिल्लामा सङ्क्रमित थपिएका छैनन्। दसैँ, तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा हाटबजारमा मानिसको भीडभाड, मास्क नलगाउने, एक अर्काबीचको दूरी कायम नगर्ने र सरसफाइमा ध्यान नदिँदा अप्रत्यासित रुपमा कोरोनाको अवस्था भयावह हुन सक्ने जिल्ला अस्पताल सर्लाहीका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर सन्जिवकुमार सिंहले चिन्ता गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको