८ दिनभित्रै सकिएला नेकपाको बाँकी एकता प्रक्रिया?

काठमाडौं–तत्कालीन एमाले र माओवादीबीच एकताको २ वर्ष ३ महिनापछि गत भदौ २६ गते असोज महिनाभित्रै एकताका बाँकी काम सम्पन्न गर्ने घोषणा गरियो। अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’द्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशनमा एकताका काम तत्काल सम्पन्न गरी आगामी चैत २५ गतेदेखि ३० गतेसम्म संयुक्त महाधिवेसनमा केन्द्रीत हुने भनियो।  

गत ६ असोजको सचिवालय बैठकले अध्यक्षद्वय ओली तथा प्रचण्डसहित महासचिव विष्णु पौडेलले १० दिनभित्र एकताको खाका तयार गर्ने निर्णय गर्‍यो। एकताको खाका ल्याउन दिइएको १० दिनको समय असोज १६ मा सकियो। तर, असोज सकिन ८ दिनमात्रै बाँकी हुँदा पनि बाँकी रहेको एकता प्रक्रिया टुंगो लाग्ने छाँट देखिएको छैन।

पार्टीमा निर्णय गर्ने र कार्यान्वयनमा कसैको ध्यान नजाने भएपछि एकपछि अर्को समस्या बल्झिँदै गएको एक सचिवालय सदस्यले बताए। ‘पार्टीमा निर्णय गर्नलाई मात्र निर्णय हुन्छ त्यसपछि कार्यान्वयन गर्ने बेला कसलाई मतलब हुन्छ र?,’ ती सचिवालय सदस्यले भने, ‘अब पार्टी एकताका बाँकी काम असोजभित्रै सकिने सम्भावना टर्दै गएको छ।’ 

यस्तै प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले पनि एकताको बाँकी काम असोजभित्र नहुने लगभग निश्चितजस्तै भएको बताए। ‘पार्टी एकता तीन महिनाभित्रै सम्पन्न गर्ने भनियो, तर एकताले गति नै समाउन सकेन,’ ती  स्थायी कमिटी सदस्यले भने,‘अध्यक्ष ओली कमरेडले नचाहँदा एकपछि अर्को गर्दै ढिलाइ भईरहेको छ ।’ 

पार्टी एकतामा २ अध्यक्ष एक मत भए हप्ता दिनभित्रै सकिने उनले बताए। तर, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ भने एकताका बाँकी काम असोजभित्रै टुंंगोमा लाग्ने बताउँछन्। ‘पार्टी एकताका बाँकी कामलगायत अरु विषयमा दुई अध्यक्षले सघन रुपमा छलफल गरिरहनु भएको छ,’ नेम्वाङले भने, ‘तोकिएकै मितिमा पार्टी एकताका बाँकी काम सम्पन्न हुनेमा आशावादी छु ।’

तत्कालीन एमाले महासचिव मदन भण्डारीको स्मृति दिवस पारेर तत्कालीन एमाले र माओवादीले ३ जेठ ०७५ मा एकता घोषणा गरे। जेठ १६ गते अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले हस्ताक्षर गरेर अन्तर पार्टी निर्देशन जारी गरियो । सोही निर्देशनमा तीन महिनाभित्र एकताका बाँकी काम सम्पन्न गर्ने घोषणा गरिएको थियो। तर त्यो समय घर्किएको पनि २ वर्ष ३ महिना पुगिसकेको छ। एकताका बाँकी काम अझै पुरा हुन सकेका छैनन्। 

पार्टी त्योभन्दा अघि बढ्नै सकेको छैन। नेतृत्व तहमा हुने विवादका श्रृखलाले पार्टी एकताको काममा ढिलाइमात्रै नभई सरकारले समेत लय समाउन सकेन। अध्यक्ष ओली–प्रचण्डले तीन महिनामै एकता प्रक्रिया टुगो लगाउने घोषणा गरेको १ वर्ष पाँच महिनामा १३ भदौ ०७६ मा फेरि अन्तरपार्टी निर्देशन जारी गरियो। अध्यक्ष ओली–प्रचण्डले हस्ताक्षर गरेको निर्देशनमा राष्ट्रिय राजनीतिले श्रृजना गरेका नयाँ–नयाँ जिम्मेवारी पुरा गर्नुपर्ने र सहमतिका साथ एकताका काम सम्पन्न गर्नुपर्ने भएकाले तीन महिनाभित्र पुरा गर्न नसकेको आत्मालोचनामात्रै गरियो। 

उक्त अन्तरपार्टी निर्देशनमा एकताका विषयमा कुनै सीमा निर्धारण नगरी २२ जनर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेर एकता प्रक्रिया छिटो पुरा गर्न निर्देशन दिईयो। यस्तै केन्द्रीय सदस्यको कार्यविभाजन गर्दै प्रदेशका इन्चार्ज, सहइन्चार्ज,अध्यक्ष र सचिवको जिम्मेवारी भागबण्डा गरियो। पार्टी केन्द्रका ३३ विभाग गठनगरी प्रमुख र उपप्रमुखको चयन, जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गरियो।

यस्तै जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकियो । एकता गर्ने क्रममा योग्यता, क्षमता, सक्रियता र योग्दानलाई मुख्य मापदण्ड बनाएर एकता प्रक्रिया तत्काल सम्पन्न गर्ने अन्तरपार्टी दिर्नेशनमा उल्लेख गरियो । तर, अहिलेसम्म कुनै कमिटीले पूर्णता पाउन सकेका छैनन्।  

यी हुन् एकताका बाँकी काम 
पार्टीमा आहिलेसम्म सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी गरी तीन कमिटीमात्रै छ। पार्टी पोलिटब्यूरो गठन गर्ने भनिए पनि अझै  हुन सकेको छैन। पार्टी केन्द्रका ३३ विभाग प्रमुख र उपप्रमुखको जिम्मेवारी तोकिएपछि बाँकी रहने सदस्यको टुंगो लाग्न सकेको छैन।

नेकपाका २२ जनवर्गीय संगठनका अधिकांशको एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन। जनवर्गीय संगठनको समेत केन्द्र, प्रदेश र जिल्लामा टुंगो लागे पनि स्थानीयस्तरसम्म अझै एकता हुन सकेको छैन। पार्टीका केन्द्रीय आयोग अझै गठन हुन सकेका छैनन्। अहिलेसम्म केन्द्रीय निर्वाचन आयोग, लेखा तथा वित्तिय आयोग, केन्द्रीय सल्लाहकार परिषद, जेष्ठ कम्युनिस्ट मञ्चले पूर्णता पाउन सकेका छैनन्। यस्तै प्रदेश सम्पर्क कमिटी तथा स्थानीयतहका कमिटीले पूर्णता पाउन बाँकी छ। पार्टीको एकीकृत क्रियाशील सदस्यता नवीकरण अझै हुन सकेको छैन।nepallive