June 18, 2024, Tuesday
KN hd tv

मजदुरमा कोरोना देखिएपछि तातोपानी नाका फेरी बन्द

काठमाडौं–लामो समयपछि खुलेको तातोपानी नाका एक दिनमै फेरि बन्द भएको छ। नाकामा कार्यरत मजदूरमा कोरोना संक्रमण देखिएपछि नाका पुनः बन्द भएको हो। 

भन्सार सामाग्री लोड–अनलोड गर्ने मजदूरमा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोना देखिएपछि चिनियाँ पक्षले एकतर्फी रुपमा आयात बन्द गरेको हो। तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत रामचन्द्र ढकालका अनुसार नाका खुल्दा भित्रिएका १२ कन्टेनरका सामग्रीको भन्सार भएको छैन। ती सामग्रीको डकुमेन्ट आउने क्रम  बाँकी छ। चीनबाट आएका अन्य थप सामग्री मितेरी पुल पारी नै भुइँमा राखिएका छन्।

नेपालमा परीक्षण गर्दा तीन मजदूरको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएपछि चीनले एकतर्फी रुपमा आयात बन्द गरेको हो। खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दसैंअघि काठमाडौं पुर्‍याउने योजना अनुसार  दुवै देशको सहमतिमा नाका खुलेको थियो। सीमाबाट कोरोना फैलन सक्ने भन्दै जाङ्मु प्रशासनले चीनबाट मितेरीपुलमा ल्याइएको सामान रोकेको थियो।

गत असार २५ गते बाह्रविसेदेखि तातोपानीसम्मका सडक खण्ड कटान गर्ने गरि आएको बाढी पहिरोपछि बन्द रहेको तातोपानी नाका फेरि सञ्चालनमा ल्याइएको थियो। भोटेकोसी नदीमा आएको बाढी र पहिरोले क्षतिग्रस्त भएको सडक निर्माण भए पनि तिब्बतको ‘क्यानोन कु’ ताल फुट्न सक्ने सम्भावना रहेकै कारण देखाउँदै नाका बन्द गरिएको थियो।

शीर्ष समाचार

धेरै पढिएको