March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

अन्योलमा वामदेवको मुद्दाको सुनुवाइ

काठमाडौं-बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका वामदेव गौतम राष्ट्रिय सभा सदस्य भएपछि सुरु  भएको  विवाद संवैधानिक  इजलाशमा हेर्दाहेर्दै रहेको छ। 

गत शुक्रबारदेखि हेर्दाहेर्दै रहेको मुद्दाको अर्को पेशी बुधबार तय गरिएको थियो। तर सर्वोच्चका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएपछि सुनुवाइ अन्योलमा परेको छ। संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र  ईश्वर खतिवडा छन्।

गत बुधबारबाट सुरु भएको गौतमको सांसद पदसम्वन्धी विवादमा पहिलो दिन रिट निवेदन पक्षका कानुन व्यवसायी र  महान्यायाधीवक्ताले बहस गरेका थिए। दोस्रो सुनुवाइमा सरकारी वकिलले आफ्नो बहस सक्दै गौतम पक्षका कानुन  व्यवसायीले बहस सुरु गरेका थिए। 

गौतमका तर्फबाट वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले बहस गरेका थिए। गौतमका केही कानुन व्यवसायीको बहस बाँकी नै भएकाले हेर्दाहेर्दै राखिएको थियो। तर हेर्दाहेर्दैको मुद्दाको सुनुवाइको मिति नआउँदै फुलकोर्टको बैठकमा बसेका एक न्यायाधीशलाई कोरोना देखिएपछि आइतबारदेखि सर्वोच्चको सुनुवाइ प्रभावित भएको छ। 

आइतबार एक न्यायाधीशको मात्र इजलाश गठन भएको थियो भने सोमबार दुई न्यायाधीशको इजलाश गठन भएको थियो। मंगलबार तीन न्यायाधीश सर्वोच्चमा उपस्थित भएका थिए। संवैधानिक इजलाशकै एक न्यायाधीशकी श्रीमतीमा कोरोना पुष्टि भएकाले उनी फेरि क्वारेन्टाइनमा रहेका छन्। 

संवैधानिक इजलाशका सबै सदस्यहरु उपस्थित हुन नसक्ने भएपछि गौतमको मुद्दा सुनुवाइ नहुने देखिन्छ। बुधबार सुनुवाइ हुन नसके उक्त मुद्दाको सुनुवाइ कम्तिमा एक साता पर धकेलिने छ।

शीर्ष समाचार

धेरै पढिएको