नेपालमा परिपक्व उमेरमा विवाह गर्ने प्रवृत्ति बढ्दो, बालविवाह घट्दो क्रममा
काठमाडौँ – नेपालमा पछिल्लो समय परिपक्व उमेरमा विवाह गर्ने प्रवृत्ति बढेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको जनगणना २०७८ को वैवाहिक स्थितिबारे विषयगत प्रतिवेदनअनुसार पुरुषहरूको औसत विवाह उमेर २५.५ वर्ष र महिलाको २१.८ वर्ष पुगेको छ। २०१८ सालको जनगणनामा यो क्रमशः १९.५ र १७.१ वर्ष मात्र थियो।
प्रतिवेदनअनुसार बालविवाहको दर घट्दै गएको छ। २० देखि २४ वर्ष उमेर समूहलाई सोधिएको आधारमा १५ वर्षभन्दा कम उमेरमा विवाह गर्नेहरूको संख्या ०.५ प्रतिशतमा झरेको छ। रौतहटमा यो संख्या १.४ प्रतिशत रहेको छ भने मुस्ताङमा शून्य छ।
त्यस्तै १८ वर्षभन्दा कम उमेरमा विवाह गर्ने महिलाको संख्या २२ प्रतिशत र पुरुषको ५ प्रतिशत रहेको पाइएको छ। मधेश प्रदेशमा अझै पनि ३२ प्रतिशत महिलाले १८ वर्षभन्दा कम उमेरमै विवाह गर्ने गरेका छन्।
प्रतिवेदनले किशोर–किशोरी जनसंख्या पनि घट्दो क्रममा रहेको देखाएको छ। २०७८ सालमा किशोर–किशोरी (१०–१९ वर्ष उमेर समूह) जनसंख्या २०.१ प्रतिशत र १५–२४ वर्ष उमेर समूह १९.७ प्रतिशत रहेका छन्। २०६८ मा ६४ लाख १० हजार रहेको यो संख्या २०७८ मा घटेर ५८ लाख ८० हजारमा सीमित भएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसूदन बुर्लाकोटीले जनसंख्याको बनावट बिस्तारै घट्दो अवस्थामा गएको भन्दै चिन्ता व्यक्त गर्दै युवापुस्ताको वैदेशिक बसाइँसराइ र अध्ययनको प्रवृत्ति उल्लेखनीय ढंगले बढेको बताएका छन्।

लेखकको सम्वन्धमा