विश्वभर मनाइँदैछ शान्तिका अग्रदूत बुद्धको २,५६९औं जन्मजयन्ती
काठमाडौं । शान्ति, करुणा र अहिंसाका प्रतीक सिद्धार्थ गौतमको २,५६९औं जन्मजयन्ती आज (सोमबार) नेपालसहित विश्वका विभिन्न देशमा श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्तीमा बुद्धको पूजा, आराधना, प्रवचन र विविध धार्मिक कार्यक्रम आयोजना गरिन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण सबै यही तिथिमा परेकाले यो दिन बौद्ध धर्मावलम्बीहरूका लागि विशेष मानिन्छ।
भगवान् गौतम बुद्धलाई विष्णुको नवौं अवतारका रूपमा पूजाआराधना गर्ने परम्परा पनि रहिआएको छ। बौद्ध धर्मावलम्बीहरूले चैत्य, गुम्बा, विहारलगायत स्थलमा पूजा, प्रार्थना, ध्यान र प्रवचनमार्फत जयन्ती मनाउँदै आएका छन्।
आज लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विशेष कार्यक्रम आयोजना भइरहेका छन्। इसापूर्व ५६३ मा रुपन्देहीको लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रका रूपमा जन्मेका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा दरबार त्यागेर दुःखमोचनको मार्ग खोज्न निस्किएका थिए। पछि ज्ञान प्राप्त गरी ‘बुद्ध’ का रूपमा विश्वभर शान्तिका अग्रदूत बने।
“अहिंसा नै शान्ति र मैत्रीको आधार हो” भन्ने कालजयी सन्देशका वाहक बुद्धको योगदान स्मरण गर्दै आज बुद्ध जयन्ती भव्य रूपमा मनाइँदैछ।

प्रतिकृया दिनुहोस्