सुपथ पसल सञ्चालनमा आएपछि उपभोक्ता हर्षित
काठमाडौं – दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ। मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता हर्षित भएका छन।
सरकारले चाडबाडका अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। उपत्यका मात्रै नभएर देशका प्रमुख शहरहरुमा समेत सुपथ मूल्य पसल सञ्चालनमा आएका छन। बजारमा महँगी बढ्दै जाँदा सुपथ मूल्य पसलबाट सस्तो मूल्यमा उपभोग्य बस्तु किन्न पाउँदा उपभोक्ता हर्षित भएका छन्।
साल्ट ट्रेडिङ कर्पोरेसन, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सहकार्य गरेर सुपथ पसल सञ्चालन गरिरहेका छन्। सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र स्यानिटाइजर लगायतका सामग्री विक्रि वितरण भइरहेका छन्। पसलमा चिनी प्रतिकिलो ७० र नुन प्रतिकिलो १८ रुपैयाँ मूल्य निर्धारण गरिएको छ। बाहिरको दरभन्दा चिनी प्रतिकिलोमा १० र नुन प्रतिकिलोमा दुई रुपैयाँ छुट गरिएको छ। सुपथ मूल्य पसलबाट उपभोक्ताले सामान किन्ने मात्रै नभएर बेच्नेपनि गरेको साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालय धनगढीका नायब महाप्रवन्धक, केशव प्रसाद पाण्डेले बताए।
चाडपर्वको समयमा सुपथ मूल्य पसलमा माल समानको अभाव हुन नदिन उचित व्यवस्थापन गरिएको खाद्य संस्थान धनगढीका प्रमुख अनिल कुमार श्रेष्ठले बताए। यो वर्ष सुदूरपश्चिमका अन्य जिल्लाहरुमा भने सुपथ मूल्य पसल सञ्चालनमा आएको छैन।
विगतमा कैलालीको टीकापुर, कञ्चनपुरको बेलौरी, महेन्द्रनगर र पहाडी जिल्लामा बैतडी, डडेल्धुरा, दिपायल लगायतका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको थियो। यो वर्ष भने अनलाइन बिलिङ सिस्टम भएपछि अन्य स्थानमा पसल सञ्चालनमा आउन सकेको छैन।
प्रतिकृया दिनुहोस्