October 25, 2024, Friday
KN hd tv

निषेधाज्ञाबीच बुटवलमा प्रदर्शन

बुटवल – प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी सार्ने प्रस्तावको विरोधमा आइतबार पनि बुटवल प्रदर्शन भएको छ। नेपाली कांग्रेस र रुपन्देहीका विभिन्न संघसंस्थाहरुले बिहानैदेखि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।

अस्थायी राजधानी बुटवलबाट देउखुरी सार्ने प्रस्ताव प्रदेशसभामा अघि बढेपछि प्रदर्शन सुरु भएको हो। प्रदर्शन नियन्त्रणबाहिर जान नदिन रुपन्देही प्रशासनले गरेको निषेधाज्ञा जारी गरेको छ। तर, संघर्ष समितिको अगुवाइमा रुपन्देहीका व्यावसायिक संघसंस्थाले बुटवलको राजमार्ग चौराहाबाट जुलुस निकालेका छन्।

उक्त जुलुस ट्राफिकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमाल, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल लगायतले बुटवलबाट राजधानी सार्ने प्रस्ताव तत्काल फिर्ता लिन माग गरेका छन्। प्रदेश राजधानी बुटवल नै उपयुक्त रहेको भन्दै उनीहरुले सासंदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गरेका छन्।

साथै, प्रदेशसभामा पेश भएको प्रस्ताव फिर्ता नभएमा आन्दोलन अझै चर्काउने चेतावनी दिएका छन्। सोही प्रस्तावको विरोध गर्दै नेपाली कांग्रेसले आह्वान गरेको रुपन्देही बन्दको प्रभाव बुटवल क्षेत्रमा परेको छ। बन्दका कारण मुख्य सडकमा अत्यावश्यक गाडी मात्रै फाट्टफुट्ट चलेका छन्। पसल, व्यवसाय बजार बन्द छन्। मुख्य राजमार्गमा सुरक्षाकर्मीको संख्या बढाइएको छ। बुटवलको राजमार्ग चौराहादेखि, मिलनचोक, बसपार्क, अस्पताललाइन, ट्राफिक चोक, नेपालगन्ज रोड, तिलोत्तमाको मणिग्राम, भैरहवा लगायतका स्थानमा बिहानैदेखि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रदेशसभामा दर्ता भएको राजधानी सार्ने प्रस्ताव पास गराउन ह्वीप लगाउने निर्णय गरेर मुख्यमन्त्री शंकर पोखरेल भने शनिबार काठमाडौं गएका छन्।

शीर्ष समाचार

धेरै पढिएको