महिलाको अधिकार र सशक्तिकरणका लागि ११५औं अन्तर्राष्ट्रिय नारी दिवस
काठमाडौं – ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ।
यस अवसरमा महिलाको आर्थिक, सामाजिक, र राजनीतिक उपलब्धि स्मरण गर्दै प्रविधिमा पहुँच विस्तार, सशक्तिकरण अभिवृद्धि, तथा लैङ्गिक असमानता र हिंसा अन्त्य गर्ने लक्ष्य लिइएको छ। महिलालाई शिक्षित, आत्मनिर्भर बनाउँदै सम्मान गर्ने उद्देश्य पनि यस दिवसको रहेको छ।
नेपालको संविधानले सबै प्रकारका विभेद, शोषण र अन्याय अन्त्य गर्दै समतामूलक समाज निर्माणको नीति लिएको छ। महिलाको हक मौलिक हकका रूपमा स्थापित गर्दै समानुपातिक समावेशी सिद्धान्तअनुसार राजनीतिक तथा प्रशासनिक क्षेत्रमा सहभागिता बढ्दै गएको छ। हाल सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६.५ प्रतिशत, र स्थानीय तहमा ४१.१ प्रतिशत महिला जनप्रतिनिधि छन्। निजामती सेवामा महिलाको उपस्थिति करिब २८ प्रतिशत पुगेको छ।
किशोरी तथा बालिकामाथि हुने हिंसा रोक्न, शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण, र निर्णय प्रक्रियामा महिलाको समान पहुँच सुनिश्चित गर्न अझै थप प्रयास आवश्यक रहेको छ।
सन् १९७५ देखि संयुक्त राष्ट्रसंघले नारी दिवस मनाउन थालेको हो। सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजारभन्दा बढी महिलाले श्रम अधिकारका माग राख्दै प्रदर्शन गरेका थिए। यही सङ्घर्षकै स्मरणमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा बसेको हो।

प्रतिकृया दिनुहोस्